गुल्मीको बिजुली - न घाम लाग्दा आउँछ, न पानी पर्दा !
सल्लाको दियालो वा कोलमा पेलेको तोरिको तेलको बत्ती बाल्नु पर्ने भन्दा अलि बिकसित अवस्थामा गुल्मीमा जन्मिएको मान्छे हुँ म। मैले जान्ने हुँदा घरमा मट्टीतेल हालेको पानसमा बत्ती बाल्थ्यौं। प्राय गाउँका सबैको घरमा यहि बत्तिको चलन थियो। कसै कसैको घरमा लालटेन हुन्थ्यो तर सिसा फुट्ने, पुछेर सफा गर्ने आदि समस्याले लालटिन भन्दा पानस नै बढी प्रयोग हुन्थ्यो। रातिमा हुने बिबाह, भजन-किर्तन, जात्रा वा अन्य अवसरमा मैन्टोल बाल्थे। जाली बल्ने गरि बनाइएको त्यो भाँडोमा मट्टीतेल हालेर दम दिनु पर्थ्यो। अहिलेको LED बल्बले जस्तो चहकिलो प्रकाश दिन्थ्यो। भान्सामा पानस हुन्थ्यो भने आँटीमा, बैकल कोठामा वा गोठमा बनाइएको कोठामा बाल्नु पर्ने भए मसिको शिसी वा औसधिका शिसीमा सुथरिको बाती हालेर बनाइएको बत्ती बाल्ने गरिन्थ्यो। त्यही बत्तिको वरिपरि बसेर पढ्ने गर्थ्यौं, होमवर्क गर्थ्यौं। अलि ठूलो बाल्यो भने त्यत्रो राँको बालेर नबस मट्टीतेलको नाश हुन्छ भन्दै हप्काउनु हुन्थ्यो बा-आमाले।
मेरो बचपन यहि उज्यालोमा बितेको हो। कखरा, एकदुई र एबिसिसिडी यहि उज्यालोमा सिकेको हुँ मैले।
ठ्याक्कै तिथि मिति याद छैन तर रानिबास पढ्दैगर्दा ( जहाँ मैले ६ कक्षा देखि १२ कक्षा सम्म अध्ययन गरेको थिएँ ) ठुला ठुला बिजुलीका खम्बाहरु गाडिन थाले, रिडि देखि बलेटक्सार हुँदै शृङ्गा, बिरबास, तम्घासतिर गए ती बिजुलिका पोलहरु। बिस्तारै त्यसमाथी तार विछ्याइए। उता प्युठानतिर खोलाबाट बिजुली निकालेको भन्ने हल्ला सुनिन्थ्यो। झिमरुक जलविद्युत आयोजना लेखिएका गाडिहरु यताउता गरेको देखिन्थ्यो। अब हाम्रो गाउँघर पनि बिजुलीले झलमल्ल हुने भो भनेर मन पलुकित हुन्थ्यो। बिजुली आएपछि बटन दबाए पछि बल्छ/निभ्छ, रेडियो, टेपरिकर्डर मज्जाले बजाउन मिल्छ, ब्याट्री किनि राख्नु पर्दैन भन्ने कुराले मनलाई आनन्दित तुल्याउथ्यो। हेर्दाहेर्दै टक्सार, रानिबास, काहुले हुँदै खैरेनीतिर नि पोल गाडिए, तार टाँगिए। स्कुल जाँदा त्यो बिकास देखेर फर्किन्थ्यो अनि घरमा आए पछि अब यसो हुन्छ उसो हुन्छ भनेर आपसमा कुरा गरिन्थ्यो। कतिधेरै पैसा लाग्छ भन्ने बा-आमाको कुराले त्यो खुसिलाई कताकता बिथोल्थ्यो तर पनि गाउँमा त आउँछ भन्ने सान्त्वनाले मन तरंगित भै राख्थ्यो।
त्यसरी टाँगिएको तार धेरै समय त्यत्तिकै रहिरह्यो। त्यसमा के कस्तो प्रगति भैराखेको छ, कहिले सम्म बिजुली आइपुग्छ त्यसको जानकारी हुँदैनथ्यो। न अहिले जस्तो एक एक घण्टामा समाचार भन्ने एफ एम थिए, न मिनेट-मिनेटमा अपडेट गर्ने अनलाइन समाचार थिए। न टेलिफोन न मोबाइल। रेडियो नेपालको समाचारमा ती सबै कुरा अटाउन्नथे। हाम्रो उत्सुकता कतैबाट चित्तबुझ्दो गरि सम्बोधन हुँदैनथ्यो। दिन बिते, महिना बिते, बर्ष बिते तर बिजुली आएन। उहीँ जीवन-यापन, उहीँ पानसको बत्ती, उहीँ लालटिन। त्यही प्रकाशमा भबिस्य खोजी रहें। ठुलाठुला बैज्ञानिक आविस्कार, विश्व इतिहास, मानव सभ्यता, रोग-उपचार लगायत धेरै कुरा त्यहि प्रकाशमा पढें। त्यही बत्तीको आडमा थुप्रै हिसाब किताब मिलाएँ। अध्यारो बाट उज्यालोतिर लैजाने शिक्षाको ज्योती त्यही बत्तिको मधुरो प्रकाशबाट तानेँ तर बिजुली आएन।
८/९ कक्षा पढ्दाताका बलेटक्सार बजारतिर अर्का ससाना काठका खम्बाहरु गाडिन थाले। बिजुली ती ठुला खम्बाहुँदै साना खम्बा तिर खिचिएको तार बाट आउँछ भन्ने थाहा भयो। बिस्तारै टक्सार बजार झलमल्ल हुन थाल्यो। त्यहाँ बिजुली बत्ती बलेको २/३ बर्ष पछि मात्रै हाम्रो गाउँ सम्म आयो तर धेरै टाढै रह्यो अन्तिम खम्बा। धेरै घर हुने बस्ती तिर लामै तार टांगेर बिजुली लगियो तर दुइटा मात्र घर भएको हाम्रो टोलमा बिजुली पुग्न फेरि अर्को बर्ष कुर्नु पर्यो। एउटा लामो कालखण्ड, पट्यार लाग्दो प्रतीक्षा पछि मात्र घरमा बिजुली बल्यो। आहा ! कति उज्यालो प्रकाश। ध्वाँसे, कालोमैलो भन्साघर नि कति टलक्क टल्केको। हामी बिकासको एक खुट्किलो उक्ल्यौं। पारी-पारी देखिने अध्यरा बस्ती हेर्दै भन्थ्यौं- त्यता बिजुली छैन। यस्तो लाग्थ्यो हामी उच्च बिकसित क्षेत्रमा छौं र उनिहरु अति दुर्गम क्षेत्रमा छन।
गाउँमा आएको बिजुलिको उज्यालोले पुगेन। शिक्षाको उज्यालो अझ भर्नु थियो, चम्काउनु थियो। त्यसपछी मैले गाउँ छोडेर शहर पसें। बिस्तारै गाउँमा टिभी भित्रीए। भिसिआर भित्रिए। टेलिभिजनका रिपिटर टावरहरु बने। डिभिडी प्लेयरहरु भित्रीए। बिजुलीको प्रयोग बढ्यो। मान्छेहरु बिजुलीमा निर्भर हुन थालेपछी फेरि त्यसकै अभाव बढ्न थाल्यो। लोडसेडिङ हुन थाल्यो। मोबाइलको शुरुआत भएपछी त बिजुलिको महत्व झन बढ्दै गयो। गाउँ गाउँमा विद्युतीय उपकरणहरुको प्रयोग बढ्दै गयो। बिजुलीले गाउँको जीवन शैली नै बदल्यो। शहरबाट गाउँमा आउँदा नि धेरै कुरामा फरकपन रहेन।
लकडाउनको कारणले अहिले करिब २ महिना गाउँमा बस्ने अवसर मिल्यो। गाउँ छोडेपछिको सायद सबभन्दा लामो बसाइँ हो यो। अहिले गाउँमा उतिखेरको जस्तो अवस्था छैन। मान्छेहरू कम छन। खेतीपाती भन्दा अन्य आय-आर्जन पट्टी आकर्षण छ मान्छेहरुको। सुबिधाभोगी भएका छन गाउँमै पनि मान्छे अचेल। सबै जसो घरमा मोटरसाइकल छन । अहिले त महङ्गा कारहरु पनि देखिन्छन गाउँमा। सबैको हातमा स्मार्ट मोबाइल छन। घरघरमा केबल टिभी, नेट टिभी, ईन्टरनेट , डिसहोम जोडिएका छन। पंखा, हिटर, फ्रीज राखिएका छन। यी सबै कारणले गर्दा बिजुली जिबनको अभिन्न अंग बन्न पुगेको छ गाउँमा। अहिले देशमा प्रसस्त बिजुली उत्पादन भै रहेको छ। यो सुख्खा मौसममा बिजुलिको उत्पादन कम हुने भए पनि, पानी परिरहेको, लकडाउनको कारण उपभोगमा कमि आएको कारणले अहिले माग अनुसारको प्रसस्त बिजुली छ। अझ एकजनाको नाम नलिइ बिजुलिको कुरा अधुरो हुन्छ- कुलमान छन र बिजुली छ।
तर यी सबै कुराको बावजुद मैले गुल्मीमा बिजुली को यति चरम अस्थिरता, अभाव र जिम्मेवार निकायको यो हद सम्मको लापरबाही रहेछ भन्ने कुरा यो बसाइँमा प्रत्यक्ष देख्ने भोग्ने अवसर पाएँ । ६०-६२ दिनको बसाइँमा मैले लगातार २४ घण्टासम्म बिजुली आएको कुनै दिन पनि भेटिन। बिजुली आउँछ - मोबाइल चार्जमा जोड्यो- जान्छ। बिजुली आयो, नेट चल्यो, कसैसंग यसो भिडियो कल गर्न लाग्यो, बिचमै काटिन्छ। इन्डिकेटर तिर फर्केर हेर्दा लाइन काटिइसकेको छ। एक दिन दुई दिन होइन लगभग सधैं जसो। यो कुरो मलाई खड्क्यो, यहीँ बस्नुहुने मेरो परिवारका सदस्यलाई खड्केन किनकी वहाँहरु यो नियतिबाट अभ्यस्त भै सक्नु भएको छ। सहजरुपमै लिनुन्छ- लाइन छैन।
गुल्मीमा पनि थुप्रै कुराहरू होलान जुन यो अस्थिर बिजुली बितरणको कारण हैरान छन। अस्पतालहरु छन, क्लिनिक छन, प्रयोगशाला छन, मेडिकल उपकरणहरु छन। रक्त संकलन केन्द्रहरु छन। अत्यन्त गर्मी हुने ठाउँमा खानेकुरा फ्रीजिङ गर्नु पर्ने हुन्छ। दुग्ध चिस्यानकेन्द्रहरु छन। मोबाइल टिभिका रिपिटर टावरहरु छन। यस्ता अत्यावश्यक क्षेत्रलाई बिजुलिको यो हद सम्मको अस्थिरताले कति असर गर्दो हो? कति नोक्सानी गर्दो हो? कति दुख दिदों हो? तर पनि गाउँका जनता बिबश छन, बाध्य छन सहन। यस्तो चरम लापरबाही किन? कि पहाडी क्षेत्र भएकै कारणले बिजुलिको स्थिरतामा समस्या हुने हो ? लगभग यहि कुरालाई मुख्य कारक बनाएर जिम्मेवारी बाट पन्छिन्छन अधिकारिहरु। "पहाडमा यस्तै हो हजुर" धेरै पटक बिजुली अड्डामा फोन गरेर सोध्दा पाएको उत्तर हो यो। किन यस्तै हुन्छ र पहाडमा? कि बिजुली पहाडमा उकालो ओह्रालो गर्न गाह्रो मान्छ? कि पहाडको चिप्लोबाटोमा बिजुली चिप्लिन्छ? कि पहाडमा तराइमा भन्दा बढी हावाहुरी चल्छ? के पहाडमा पोलहरु बलियो गरि गाड्न सकिँदैन? के पहाडमा (यहाँ गुल्मिमा) गाडी नजाने कुनै ठाउँ छ? कि पहाडमा / गाउँमा अबिच्छिन्न बिजुली आइराख्नु हुन्न? रुख बोटले पहाडमा मात्रै छुन्छ तारलाई? कि सरकारले गाउँमा र शहरमा फरक फरक जनशक्ति राखेको छ कार्यालयमा? कसरी जान्छ छिनछिनमा बिजुली ?
गुल्मिमा दुइटा साना हाइड्रोपावर छन। शान्तिपूरको हुग्दिखोला र रिडिको रिडिखोला जलविद्युत आयोजनाले करिबकरिब ४ मेगावाट बिजुली उत्पादन गर्छन। यो उत्पादनले गुल्मीको माग थेग्नेमात्र होइन अझ बढी हुन आउँछ उता झिमरुक आयोजनाको मुख्य प्रशारण लाइन संगको पहुँच लाइन गुल्मी भएरै जान्छ। यद्यपि यी सबै सर्किट राष्ट्रिय प्रशारण लाइन संग जोडिएका छन। तर नि माग अनुसारको आपूर्ति छैन।
अलिअली हावा चल्न लाग्दा बिजुली काटियो, ठिकै छ- कहिँ कतै क्षति हुनु भन्दा पहिल्यै सचेत भएको राम्रो। अलिअली पानी पर्दा काटियो, त्यसमा नि चित्त बुझ्यो। मौसम ठिक छ, हाबापानी छैन र पनि लाइन काटियो। अड्डामा फोन गरेर सोधें जवाफ आयो छेउछाउका बुटा काटिदै छ साँझ सम्म आउँछ। साँझ नि आएन फेरि जनतन उठेको अड्डाको टेलिफोनमा आवाज आयो उतै पाल्पातिरबाट काट्या छ हामिलाई केही थाहा छैन। किन कसरी केही थाहा छैन? बिनाकारण त काट्या छैन होला। काट्नुको कारण र आउने समय जिम्मेवार ढंगले सेवाग्राहीलाई जानकारी गराउनु पर्दैन? एकदिन दिन भरी बिजुली आएन मैले सोधेँ । न आउनुको कारण हाम्रै क्षेत्रको कतैपट्टी काठका पोल हटाएर मेटल पोल गाड्दै छन भन्ने जवाफ सुनें। दिनभरी काट्नु पर्छ त्यसकोलागी लाइन? सबै तयार गरेर मेन लाइन संग जोड्नेबेला मात्र काटे हुँदैन?
प्राधिकरणले अलि उपेक्षा गरेको हो जस्तो लाग्यो। जिल्लामा महत्त्वपूर्ण ब्यक्तिहरु जस्तो सांसद, मन्त्रीहरु, सचिब, आइजिपी, सेनापती वा उनिहरुको परिबार त बस्दैनन। ठुला मिडियाहरु छैनन। दरिलो प्रश्न गर्ने आँट भएका मिडियाकर्मी छैनन। सोझासाझा गाउँले जनताहरु त हुन नि के नै हुन्छर भन्ने मनोबिज्ञानले काम गरेको छ जस्तो लाग्छ। भौगोलिक बनोट, हावापानी, हुरि, चट्याङ सब बहाना गर्ने तत्वमात्र बनेका छन।
अहिले लकडाउनको अवस्थामा गाउँ होस या शहर, मानिसले दिन बिताउने माध्यम भनेकै सुचनाका स्रोत साधन, मनोरञ्जनका साधनको उपयोग हो। कतिपय बिद्यालयले अनलाइन कक्षा संचालन गरेका छन। शिक्षक विद्यार्थीलाई ईन्टरनेटको प्रयोग अनिवार्य जस्तै छ। यस्तो अवस्थामा विभिन्न बहाना बनाएर बिजुली अवरुद्ध गर्न मिल्छ? यो गैरजिम्मेवारी कार्य तुरुन्त बन्द होस। सम्बन्धित पक्षको ध्यान जाओस। मैले आफुले अनुभव गरेको कुरा ब्यक्त गर्न चाहें अन्यथा यथास्थितिमा दुनियाँ चलिरहेकै छ। लकडाउन खुले पछि म आफ्नो कार्य क्षेत्रमा फर्किउँला मेरो चासो र सरोकार अन्तै सर्ने छ तर गुल्मी बसाइँको अनुभव न घाम लाग्दा बिजुली आउँछ न पानी पर्दा ।।
दीपक ज्ञवाली, रुरुक्षेत्र- ५, गुल्मी

Ma pani gulmi koi ho mero ni online kaam hunx computer ma tara lion ko karad le garda 1 din ko kaam lai ek hapta lagx kaam garn suru gryo lion janx ani rati ma tw aaux ki vner rati kaam grnu khojyo aaudoina. Ahile lockdown suru vyepxi tw jhan hadd par greko x lion le. Palpa tir joti bela ni aako hunx gulmi ma vane 24sai ghanta lion hudoin...hjur ko sabdha ekdmoi mnn pryo yo kura mathi smma puryauna ko lagi kei grnu pryo...
ReplyDelete