झ्याउँकिरिको 'कन्सर्ट'ले ब्युँझाएका सम्झनाहरु !
यदि अब महामारीको अन्त्य हुने हो भने जीवनको सबभन्दा सुन्दर समय रह्यो यो। मेरो मात्र होइन, धेरैको लागि अद्भुत विश्राम भयो। हुन त हामीहरुको दैनिकिमा विभिन्न किसिमका बन्द हड्तालले अचानकको गरिरोध सृजना नगरेका होइनन तर यसरी घरबाट बाहिर समेत ननिस्केर, अरुले के के न भ्याइसके कि भन्ने सुर्ता नभैकन बेफिक्री बसेको चाहिँ यो पुस्ताको पहिलो भोगाइ हो। महामारीले कस्तो रुप लिने हो, मानव जातिकै अन्त्य पो हुने हो कि अथवा लामो समय यस्तै अवस्था रह्यो भने जुन पटरिबाट जीवन गुज्रिएको थियो त्यसमा असहजता आउने हो कि भन्ने चिन्ता नभएको भने होइन तर मान्छे स्वभावतः आफ्नो चिन्ता गर्दो रैछ जगतको होइन। सबैको साझा समस्यालाई मान्छेले 'पर्सनल्ली' नलिंदो रैछ। मेरो मात्रै ब्यबसाय, ब्यपार, रोजगारी अथवा अन्य कुनै पेशा बन्द भएको भए यो दुई अढाई महिनाको मानसिक प्रताडना सहन योग्य पक्कै हुने थिएन।
सुरु सुरु तिर अलिकती भय नि थियो। सम्पन्न राष्ट्रहरु समेत महामारी विरुद्धको लडाइँमा कमजोर देखिँदा हाम्रो जस्तो देशमा त्यसरी नै फैलियो भने कस्तो भयावह स्थिती होला ? उपचार त संभव छैन तसर्थ रोकथाम नै निर्बिकल्प उपाय हो भन्ने लाग्यो। सरकारले छिटो लकडाउन गर्नु पर्छ भन्ने तर्क बलियो लाग्यो तर त्यसपछि उत्पन्न हुने अनेकन समस्याको सहि विश्लेषण भएन। अहिले आएर के मात्रै भन्न सकियो भने त्यतिखेरदेखि नै लकडाउन नगरेको भए स्थिती काबु बाहिर जान्थ्यो होला, अहिलेको स्थिती कम्तिमा नियन्त्रण भन्दा बाहिर त छैन। खैर, त्यो अलग पाटो भयो। मेरो आजको सन्दर्भ यो भन्दा बाहिरको छ। ठिक बेठिक के भयो? कमजोरी के रहे ? त्यो समयले समीक्षा गर्ला । अहिले लकडाउनको 'बाध्यता' लाई 'रोमान्चित' बनाएका पलहरुको माला गाँसौ।
गुल्मीको एउटा गाउँमा बाल्यकाल बिताएको मान्छे म। शिक्षाको शुरुआत यहीँ गाउँकै सरकारी स्कुलबाट भयो। जिवनको अति उत्तम समय ब्यतित भएको ठाउँ। हाइस्कुलको अन्त्यसम्म करिब १८ बर्ष यहिंको ढुङ्गामाटो, खोला-खोल्सा, पखेरा, बोट बृक्षसंगै खेलेर बिताएँ। बिशुद्व गाउँले जिवन। दिनभरी स्कुल जानुको अलावा खेतीपातिमा आमालाई सघाउनु, गाइबाख्रा चराउनु, घांसपात र मेलापर्म गर्नु नै जिवनको सारांश थियो यहाँ। सपनाहरु बुन्नु, सानातिना रहरहरु पाल्नु र तिनिहरुको प्राप्तिमा हुने असिम आनन्द मेरो जस्तै दिनचर्या भोग्नेहरुले मात्रै अनुभव गर्न सक्लान् । गाउँघरतिर मनाइने विभिन्न चाडपर्वहरुको प्रतिक्षामा औंला गन्नु, 'लाहुर' जानुभएको बुबा आउने दिन गन्नु, वहाँले ल्याइदिने नयाँ नयाँ कपडा, खेलौना, कपिकलम, बसाउने साबुन, वहाँ घर बसुन्जेलको रौनक शब्दमा ब्यक्त गर्न नसकिने आनन्दित क्षणहरु हुन्थे। नजिकैका बजारहरु टक्सार, रिडि हाम्रा लागि लण्डन, न्युयोर्क जत्तिकै हुन्थे। अलि तलबाट बग्ने बाडिघाट नदि हाम्रोलागी हिन्दमहासागर जत्तिकै हुन्थे। तानसेन तम्घास बाटोमा चल्ने बसहरु, टक्सार देखि उल्लिखोला हुँदै वामिटक्सार, शान्तिपुर चल्ने ट्याक्टरहरु हाम्रोलागी सम्पन्न भोतिक बिज्ञानका पर्यायहरु थिए। अहिले भन्दा भिन्नै परिबेश थियो त्यो। अहिले त्यो परिस्थिति हामिले यहि ठाउँमा भेटाउदैनौं। धेरै परिवर्तन भएको छ समय। धेरै माटो बगेर बङ्गालको खाडिमा पुगेको छ।

चैत्रको ६ गते देखिनै क्याम्पसहरु बन्द भए। ११ गते देखि लकडाउन भयो। १/२ हप्ताको लागि त 'पेन्डिङ' कामहरु नै निप्ट्याउनु हुन्छ भनेर गाउँ जाने सुर गरिएन तर हप्ता दिन नबित्दै गाउँ फर्किने हुटहुटी लागिहाल्यो। भाइ लिन आइपुगेपछी गाउँ फर्किइयो। हप्ता, महिना हुँदै यति लामो समय बित्यो पत्तै भएन। गाउँ छोडेर हिंडेपछिको यो नै लामो बसाइँ भयो गाउँको। एउटा सिजन नै परिवर्तन भयो यहाँ। चिसो-चिसो मौसम बाट शुरु भएको गाउँ बसाइँ हुरिबतास, जेष्ठको तातो घाम हुँदै झमझम बर्खाको संघारमा आइपुगेको छ। अहिले सम्म गुजारेको जिन्दगिको आधा भन्दा बढी समय गाउँ बाहिर बिताएको भएर होला उतिखेर 'नोटिस' नै नगरिएका कतिपय कृयाकलापहरुले अहिले भिन्नै किसिमको रोमाञ्चित अनुभव दिलाएका छन।
तराई र काठमाडौंमा मैले झ्याउँकिरी कराएको सुनिन, सायद हुंदैनन होला। अरु ठाउँमा त्यो सिजनमा म पुगिन होला, ख्याल भएन। हाम्रो गाउँमा मात्रै हुने त पक्कै होइनन् । यदाकदा गितहरु, कथाहरुमा पनि सन्ध्याको बेला 'झ्याउकिरी बासेको' भन्ने आउनुले सायद हाम्रो जस्तै भुगोल र बाताबरणमा यो किरो हुन्छ र यहि मौसममा कराउँछ भन्न सकिन्छ। बडा गज्जबको 'रिदम' हुन्छ यस्को कराइमा। एकै पटक दुईवटा आवाज निकाल्छ- झ्याउँझ्याउँ अनि कुक्कुक् । सानो भँमरा जस्तै हुन्छ देख्दा तर आवाजले पुरै बाताबरण कोलाहलपुर्ण बनाएको हुन्छ। जेष्ठको अन्त्यतिर जब बारिभरी मकै हरियै हुन्छ तब झ्याउँकिरिहरु कराउन सुरु गर्छन र असोजको मध्यसम्म साँझ घाम ढलेपछी झमक्क अँध्यारो नहुँदा सम्म कराइरहन्छन। बर्षको अरु महिना यिनिहरु कता बिलिन हुन्छन कुन्नि, आवाज सुनिन्न। हामिहरु त्यसको आवाजमा अभ्यस्त भै सकेको भएर त्यत्ती वास्ता गर्दैनौं तर अहिले सोंच्छु कोहि नयाँ मान्छे एक्कासी त्यो माहोलमा प्रबेश गर्दो हो त कस्तो महसुश गर्थ्यो होला। साँझ पर्दै गएको छ - वारिपारी रुखै पिच्छे प्रतिस्पर्धामा कराइरहेका छन- झ्याउँझ्याउँ । अचम्मकै हल्ला हुन्छ वातावरणमा। यिनिहरुलाई साथ दिँदै अन्य त्यस्तै किराहरु पनि कराउँछन। बिस्तारै भ्यागुताहरुले साथ दिन्छन अनि झ्याउँकिरिले विश्राम लिन्छन। रातको माहोलमा भ्यागुताहरुले छुट्टै मेहेफिल सजाउछन। बिहान उठ्दा अर्कै माहोल हुन्छ- चिरबिर चराचुरुङ्गीको बिचमा धेरै तिरबाट आवाज आउछ- तिततिरित तितिरित। तित्रो भन्छौं हाम्रो तिर। खास कुन चरा हो, अन्त त्यसलाई के भनिन्छ थाहा भएन।
अहिले सन्ध्यामा एकातिर बसि आँखा चिम्लेर सुन्दैजाँदा एकनासले कराइरहेका झ्याउँकिरिका आवाजले मलाई त्यो प्रिय अतित फेरि दोहोर्याएको महशुस गराएको छ। असार लागेपछी लामो बर्खे बिदा हुन्थ्यो स्कुलमा। त्यसपछिको नियमितता अलग हुन्थ्यो। खेतिपातिको काम र गाइबाख्रा चराउने। कपिकिताब लिएरै जन्थ्यौं बनमा। होमवर्क उतै गर्थ्यौं। लगभग सबैको एउटै खाले तालिका हुन्थ्यो। रोपाइँमा गाउँ भरिका सबै खेत तिरै हुन्थे। हिलो छ्यापाछ्याप गर्नु, हलगोरु दौडाएर 'खोक' मा उफ्रिनुको अलग्गै मजा हुन्थ्यो। झमझम पानी परिरहेको, क्षणमै कुहिरोले ढपक्क ढाक्थ्यो, जताततै पानीका मुल फुट्थे, वारिपारी गहरी परेर पानी छ्वाङ्ग्छ्वाङ्ग झरिरहेको, हलिदाईहरुको हो हो र हुतुतु अनि कतिपय रोपहारहरुले असारे गितहरु गाएको त्यो बाताबरण। आहा! अहिले सम्झिँदा नै मुटुको गति बदलिएको छ। अनेक चिजहरु भेटिन्थे खानको लागि- भुटुक, खन्या, चिउरी, बेडुंलो। आरु, आरुबखडा, नासपाती अनि साउन लागेपछी अमिलो, काँक्रो, कटहर। हाम्रो तिर आँप, लिची, भुँइकटहर पाइदैनन। सायद तिनिहरुको लागि अलि औलक्षेत्र आवस्यक हुन्छ।
साउने सक्रान्ती एउटा रमाइलो चाड पर्थ्यो यो बिचमा। बिहानै देखि फरक माहोल र उमंग हुन्थ्यो केटाकेटिमा। मैरीको नजिकै 'लुतेकटेरि' बनाउँथ्यौ। कुरिलो, भलय, साउने आरु, अमिलो अनि के के ल्याएर राख्थ्यौं त्यसमा। दिउँसो खसिबोका काट्ने र साँझ राँका बालेर लुतो फाल्न दौडिने गर्थ्यौं। वारिपारी जताततै राँका बालेर लुतो फाल्न हिड्नेहरुको दृश्यले कम्ता रोमान्चित बनाउँथ्यो मनलाई! त्यतिखेर खाने 'शिखार' को स्वाद मैले फेरि कहिँकतै भेटाएको छैन। दिदिबहिनिहरुले सक्रान्तिको राती हातमा मेहन्दिको रुपमा 'तिउरी' लगाएर सुत्ने गर्थे। बिहान उठ्दा हात रातो हुन्थ्यो। रहरै रहरमा हामी पनि त्यसै गर्थ्यौं। थिचेको त्यो तिउरी (एक किसिमको झार) लगाएर कपडाले बाँधेर सुत्दा हुने अप्ठ्यारो भोलिपल्ट कसको हातमा बढी बस्छ भन्ने कल्पनाले बिर्साइदिन्थ्यो।
त्यो बर्खे बिदामा कहिं कतै आफन्तकोमा जाने मौका मिल्थ्यो। एक पटक मामाघर त अवस्य पुगिन्थ्यो। मामाघर जाँदा गौडाकोट सम्म बसको यात्रा र त्यसपछी रेसुङ्गाको जंगल हुँदै हिड्दै जाँदा बाटोमा कलकल बगिरहेका खोला, झरना र मनमोहक दृश्यले मन कति आनन्दित तुल्याउथ्यो। यता बलेटक्सार हुँदै वामिटक्सार जाने ट्याक्टरहरु बडिगाड खोला बढेपछी, डहरेको पैरो खरेपछी उल्लिखोला सम्म मात्र पुगेर फर्किन्थे। बाटोमा 'स्लिप' खाएर निस्किन घण्टौं लाग्थ्यो। त्यो तमासा हेर्न पुग्थ्यौं हामी । त्यतिखेर ट्यक्टर चलाउने ड्राइभरहरुको बेग्लै 'सान' हुन्थ्यो। ठूलो भएर ट्याक्टर चलाउने रहर लाग्थ्यो त्यो देख्दा। अलि बढिनै पानी पर्न लागेपछि ट्याक्टर चल्न छोड्थे। बाटोमा भलले ठुल्ठुला भड्खाँल्ना बनाउथ्यो। दशैं पछि डोजरले स्वहोरेपछी र बडिगाड तर्न सक्ने भएपछी फेरि ट्याक्टर चल्न सुरु गर्थे।
ती दिनहरुमा हाम्रो जस्तो लेकमै पनि हल्का गर्मी महशुस हुन्थ्यो। बेलुका पख रोटि अनि पुदिनाको चटनी खान असाध्यै मन पर्थ्यो। घर बाहिर गोसारिमा बसेर रेडियो सुन्दै टाढा टाढाको दृश्य हेर्दै रोटि खान्थ्यौं। घट्ना र बिचार, चौतारी, रोदि, प्रतिभा साँझ, बाल कार्यक्रम, कृषि कार्यक्रम इत्यादी रेडियो नेपालका 'पपुलर' कार्यक्रमहरु थिए। कहिलेकाहीँ रेडियो मिडियम वेबमा बजाइरहदा एक्कासी उर्दु, चाइनिज च्यानल पक्डिन्थ्यो, स्वस्साउँथ्यो। त्यो अत्यन्त फरक ध्वनी स्मृतिमा ताजा छ अझै। स्कुल खुल्ने बेला सम्म एउटा युग नै बिते जस्तो लाग्थ्यो। स्कुल परिसर पुरै झार, घाँसले ढाकेको हुन्थ्यो। कक्षाकोठा, डेक्सबेन्च पुरै गन्हाउने हुन्थे। एक दुई हप्ता तालमेल मिलाउनै गाह्रो।
मनमस्तिस्कको कुनै कुनामा टाँसिएर रहेको त्यो स्मृति अहिले झ्याउँकिरिका संगितले पुनर्ताजगी बनाइदिएको छ। कुनै किसिमको संगित, बास्ना, स्वाद लगाएतले बिगतको अनुभवलाई यसरी ताजा बनाइदिन्छ मानौ तिनै पलहरुको पुनरावृत्ति भैरहेको छ। झ्याउँकिरिको आवाज आउन्जेल आँखा चिम्लेर बसें। ती सबै पलहरुको पुनरावृत्ति भएझैं लाग्यो। आँखा खोल्दा झमक्क अँध्यारो भै सकेको र रेसुङ्गा ढपक्क कालो दृश्यमा परिणत भै सकेको थियो।
साँइलो अंकलको रेडियो
यो लकडाउनको अर्को अविस्मरणीय घट्नामा पर्छ- साइलो अँकलको रेडियो। हाम्रो हजुरबुबाकै सन्तान मध्येका एकजना अंकल दृष्टिबिहिन हुनुहुन्छ। वहाँको घर र हाम्रो घर वारिपारी पर्छ। पहिले दिल्ली तिरै हुनुन्थ्यो अचेल यतै बस्न लाग्नु भएछ। बाटो किनारैको पसलको माथिल्लो तलामा वहाँ सुत्ने कोठा छ। खाना खाइवरी सुत्न कोठामा आएपछी वहाँले रेडियो बजाउनु हुन्थ्यो। एफ एममा आठ बजेको समाचार हुँदै पौने नौ बजेको बिबिसी बझ्थ्यो। अलि शान्त भएर बस्यो भने त्यही रेडियो बाट वरिपरिका गाउँलेहरुले समाचार सुन्न सकिन्थ्यो। त्यस्पछी गित बजिरहन्थे। बिज्ञापन बजिरहन्थे। अंकल त्यत्तिकै निदाउनुहुँदो रहेछ। चकमन्न रात र निश्पट्ट अँध्यारो चिर्दै रेडियो बजिरहेको हुन्थ्यो। रात जति छिप्पिदैँ जान्थ्यो त्यत्ती चर्को हुँदै जान्थ्यो रेडियोको आवाज। तर बिहान उठ्दासम्म रेडियो बन्द हुन्थ्यो सायद अंकल म भन्दा पहिल्यै उठ्नु हुन्थ्यो।
सामाजिक सञ्जाल
लकडाउनको सुरुतिर सामाजिक सञ्जाल यत्ती रंगिए, यति धेरै भिडियो, फोटाहरु अपलोड भए, यति धेरै मेसेजहरु आदानप्रदान भए मानौं मान्छेहरु सामाजिक सञ्जालका भोका थिए र अहिले तृप्तहुनेगरी मिलेको छ। एकैछिन मोबाइल 'अफलाइन' भएर 'अन' गरियो भने मकै भुटेझैं पड्किन्थ्यो 'नोटिफिकेशन'। कोरोना बाट बच्ने एउटै उपाय यहि ईन्टरनेट, मोबाईल नै हो जस्तो नि लाग्यो। कोरोना भाइरस अत्यन्त मजाकको बिषय बन्यो। लकडाउनका कारण खैनी, गुट्खा, मदिरा सेबन गर्नेहरुमा परेको अभावको असर भिडियोमा 'ट्रोल' बन्यो। सुत्दासुत्दै थाकेर भर्खर उठेर विश्राम गर्दैछु भन्ने स्टाटस हरु सामाजिक सञ्जालका बाल भरी रंगिए।
बिस्तारै यतापट्टी नि मान्छेहरुको रुचि घट्दै गयो। चहल पहल हरायो। मेसेज हरु पातलिँदै गए। मोबाइलमा नोटिफिकेसन आउन छोडे। एक डेढ महिना पछि त मेसेज पठाए पनि मानिसहरु रेस्पोन्स गर्न छोडे। नयाँ कुरा आउनै छोडे सञ्जालमा। यतापट्टिबाट वाक्क भएका फुर्सदिला युवाहरु विभिन्न प्लेकार्ड बोकेर सडकमा समेत निस्किन भ्याए। यो अवधिमा मैले थुप्रै फिल्महरु हेरें। केही उपलब्ध पुस्तक पढें र केही डकुमेन्ट्री हेरें।
हामी जिवनलाई सधैं दौडधुप मात्रै मान्थ्यौं। भागाभागको यो जिवनमा कहिले यतिबिधी फुर्सद मिल्छ भनेर कल्पना सम्म गरेनौं। के धनी, के गरिब, के जात, के धर्म सबैलाई घर भित्र थुनेर अदृश्य भाइरसले संसार सयर गरिरह्यो। ब्रम्हाण्डलाई आफ्नो अधिनमा राख्न आँटिएको मानवलाई एउटा सानो जिवले यसरी परास्त गर्दियो। यद्यपि लडाइँ जारी छ। भोलिको के थाहा- सास फेर्नै गाह्रो पो हुने हो कि !
दीपक ज्ञवाली
रुरुक्षेत्र - ५, गुल्मी

Comments
Post a Comment