'डब्लुएचओ' को अपरिपक्व निर्णयले निम्त्याएको दुर्दशा !

         


           चिनको वुहान प्रान्तबाट शुरु भएको COVID-19 नामक सरुवा रोग अहिले विश्वका धेरै देशमा फैलिएको छ। Novel Corona Virus नामक जीवाणुको कारणले लाग्ने यो रोगबाट अहिले सम्म अढाई करोड मानिस संक्रमित भएका छन् भने सबा आठ लाख मानिसको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई महामारिको संज्ञा दिएको छ र यसबाट ठूलो जनधनको क्षति हुने भविस्यवाणी गरेको छ। यो रोग ९ महिनाको अवधिमा विश्वभरी फैलिएको छ। संक्रमण फैलिन नदिन धेरैजसो देशले लकडाउन गरेका छन् र यो लकडाउन लामो समयसम्म कायम छ। रेल, बस, पानीजहाज, हवाईजहाज चलेका छैनन् । मानिस अरुबेला जस्तो सहज रुपमा एकठाउँ बाट अर्को ठाउँ यात्रा गर्न पाएका छैनन् । शंकास्पद ब्यक्तिको पिसिआर परिक्षण गरिएको छ र पोजेटिभ देखिएको ब्यक्तिको संपर्कमा आएकाको कन्ट्याक्ट् ट्रेसिङ्ग गरिएको छ। हजारौंको पिसिआर परिक्षण गर्दा नगण्य संख्यामा संक्रमित भेटिएका छन् र तिनिहरु मध्य केहिमा मात्रै रोगका साझा लक्षण देखिएका छन् । हरेक दिन संक्रमितको संख्या, निको हुनेको संख्या र मृत्युको संख्या समाचारका हेडलाईन बनेका छन् । मान्छेहरु भयभित भएका छन् । डराइरहेका छन्। कामकाज सबै छोडेर घर भित्र थुनिन बाध्य भएका छन् । 

अब हामी एकैछिन शान्त भएर ठण्डा दिमागले सोचौं - के यो साँच्चिकै भयावह स्थिती हो? के यस महामारीको अन्त्य नै छैन? के हामिहरु अब यसरी नै घर भित्र थुनिएर आर्थिक सामाजिक रुपले तहसनहस नै हुने हो? अझ त्यसभन्दा सोंच्नु पर्ने कुरा के यो रोगको लागि लकडाउन नै गर्नु पर्ने हो? के यो प्रचार गरिए जस्तै खतरनाक बिमार हो? यो बिमार लागे पछि आइसोलेसन मै जानू पर्ने हो? गाउँ टोल आतंकित पारेर एम्बुलेन्समा राखेर लैजानै पर्ने हो? यो रोग बाट संक्रमितलाई छुंदैमा, नजिक पर्दैमा सरिहाल्ने हो? के यो रोग लागेपछी निको नहुने नै हो? ज्यान गुमाउनै पर्ने हो? तथ्यांक हेर्दा त्यस्तो केही पनि लाग्दैन। नेपालमा संक्रमणको अवस्था हेर्दा यो रोगबाट यतिबिधी हतोत्साहित हुनु पर्ने कुनै कारण नै देखिन्न। ३०० जना संक्रमित मध्य १ जनाको मृत्यु भएको छ र त्यसरी मृत्यु हुनेमा पनि खासगरि अन्य गम्भीर प्रकृतिको दिर्घ रोगिको सख्या उच्च छ। त्यसमा पनि उपचार नपाएर, उचित स्याहारसुसार , आहार र आइसोलेसनको दुरावस्थाको कारण ले ज्यान गुमाउनु परेको देखिन्छ। यदि त्यसो नै हो भने किन यसरी त्रास सृजना गरिएको छ त? मेडिकल माफिया वा स्वास्थ्य कार्यालयका कर्मचारीले निहित स्वार्थ पुर्तिको लागि यसो गरिरहेका छन् त? त्यो होइन, किनभने संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले स्वास्थ्य संग सम्बन्धित गतिबिधिहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार संचालन गर्नु पर्ने हुन्छ। उपचार पद्धति र औषधि डब्लुएचओको प्रोटोकल अनुसार गर्नु पर्ने हुन्छ। त्यसो भए नभएको डब्लुएचओको नेपाल स्थित कार्यालयले अनुगमन गर्छ। ती मापदण्ड पूरा नगरिएमा देशले कार्बाही भोग्नु पर्छ, अनुदानहरु रोकिन्छन् । कतिपय कुराहरुले अन्तर्राष्ट्रिय मान्यता पाउँदैनन। उस्तै परे यहाँ उत्पादन गरिएका स्वास्थ्यकर्मिहरुले बिदेशमा प्राक्टिस गर्ने अनुमती पाउँदैनन् । त्यसैले डब्लुएचओको सदस्य देशले निरपेक्ष ढंगले स्वास्थ्य गतिबिधी संचालन गर्न सक्दैन। अझ यो विश्वब्यापी महामारीको समयमा त डब्लुएचओको मापदण्ड बिपरित केही गर्नै मिल्दैन। डर हुन्छ कि अवस्था जटिल हुने र अनुदान सहयोग नपाइने अवस्था नहोस् । त्यसकारण अहिलेको यो सब स्थितिको मुख्य जिम्मेवार भनेको डब्लुएचओ नै हो।
               धेरै राष्ट्र सम्मीलित यस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरुको निर्णय र कार्य त्रुटिपूर्ण हुंदैन भन्ने चाहिँ होइन। जागिरका लागि अति आकर्षक मानिने यस्ता संस्थाहरुको प्रमुखमा नियुक्तिका केही बिशिस्ट आधारहरु छन् । तिनै बिशिस्ट आधारहरुका कारणले हुने यस्ता नियुक्ति सधैं बिबादरहित र सर्बमान्य नै हुन्छन भन्ने होइन। यस्ता धेरै उदाहरणहरु छन् । संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय अदालत, मुद्राकोष, बन्यजन्तु सम्बन्धी संस्था, अन्तर्राष्ट्रिय व्यापार संघ, श्रमिक संगठन लगायत थुप्रै अन्तर्राष्ट्रिय, क्षेत्रीय संघ संगठनहरुले कुनै शक्ति राष्ट्रको प्रभाव अथवा अक्षम नेतृत्वको कारण बिबादास्पद निर्णय नभएका होइनन् । कतिपय सदस्य रास्ट्रले निर्णय नमानेर सदस्यता खारेज गरिएको, अनुदान रोकिएको लगायतका घट्ना नौला होइनन् । त्यसैले यी र यस्तै अन्तर्राष्ट्रिय संगठनले सधैं उच्च कोटिकै निर्णय र अग्रता लिन्छन भन्ने होइन र अहिले डब्लुएचओको सन्दर्भमा भएको पनि यहि हो। अहिले दुइटा कुरामा शंका गर्ने ठाउँ प्रसस्त छ डब्लुएचओको सन्दर्भमा- पहिलो कुनै सदस्य शक्ति राष्ट्रको प्रभावमा परेर निर्णय गर्नु, दोश्रो संगठनको निर्णायक तहमा भएको नेतृत्वको अक्षमता। चिनले यो रोग संग सम्बन्धित ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उत्पादन गरेर बेच्नुले कतै उसको अप्रत्यक्ष हात त छैन भन्ने शंका उब्जिएका छन भने अर्को तिर प्रेडिक्सन गरे अनुरुपको भयावह स्थिती नहुनु, मृत्युदर नहुनु, अन्य रोगको कारणले मृत्यु भएकाहरुमा पनि कोरोना संक्रमण देखिएमा त्यसको मृत्युको कारण पनी कोरोना नै मानेर संख्या उल्लेख गर्न लगाउनुले कतै डब्लुएचओका वरिष्ठहरुले हतारमा अधकल्चो निर्णय गरेर ढाकछोप गर्ने प्रयासमा दुनियाँमा त्रास सृजना गरेका हुन कि भन्ने आशंका उब्जिएको छ।
             गणितीय हिसाबले हेर्दा पहिलो भन्दा दोस्रोकै संभाब्यता बढी देखिन्छ अर्थात् डब्लुएचओको निर्णय गलत थियो र त्यो गल्ती सच्चाउनुको साटो झन् ढाकछोप गर्न तिर जानाले स्थिती जटिल बनेको छ। अब चर्चा गरौं - कसरी ?
                चिनको वुहानमा पुषको पहिलो साता यो भाइरस देखा पर्‍यो, समुदायमा फैलियो। वुहान क्षेत्रमा लकडाउन गरियो। संक्रमित बढेसंगै त्यस क्षेत्रमा रहेका बिदेशीहरुलाई घर फर्काइयो। बाहिरी दुनियाँसंग वुहान अलग्गियो। त्यहाँको बारेमा चीन सरकारले जे जत्ती कुरा आउट गर्‍यो त्यसैलाई विश्वास गर्नुको बिकल्प रहेन। डब्लुएचओले त्यहाँ गएर अध्ययन गरेन। संभावित जोखिम र अवलम्बन गर्नु पर्ने उपायको बारेमा संगठन मौन रह्यो। त्यहाँ बाट घर फर्किएका इरानी र इटालियनहरुको कारण ती दुबै देशमा संक्रमण फैलियो। इटालियनहरुले साबधानिको कुनै उपाय अपनाएनन उल्टो 'कोरोना पार्टी' गर्न थाले परिणामत: समुदायमा तिब्र रुपमा फैलियो। उनिहरुको जीवन शैली, खानपान र हेल्चेक्र्याँइले गर्दा विशेष गरि रोगी र असक्तहरुले ज्यान गुमाए। उपचारमा लापरबाही भयो। त्यो अवस्था हेरेपछी मात्रै डब्लुएचओ तात्तियो र भयावह स्थिती आउने घोषणा गर्‍यो। लाखौं मानिसको मृत्यु हुने र महामारीले समग्र विश्वमा ठूलो क्षति हुने पुर्बानुमान लगाएर संभावित दुर्घटना बाट बच्न लकडाउन गर्न दबाब दिन थाल्यो। अल्पविकसित र गरिब देशहरुले नियन्त्रण नै गर्न नसक्ने खतरा रहेको र ठूलो जनधनको क्षति ब्यहोर्नु पर्ने उद्घोष गर्‍यो। त्यतिन्जेल सम्म पनि डब्लुएचओले कोरोना भाइरसको बारेमा बिस्तृत अध्ययन गरेकै थिएन। कसरी सर्छ, लक्षणहरु के के देखिन्छन् र के साबधानी अपनाउनु पर्छ भन्ने बिषयमा बिरोधाभाष बक्तब्यहरु जारी गरिनुले त्यो कुराको पुष्टि गर्छ। अमेरिकामा तिब्र गतिमा संक्रमण फैलिंदा सम्म डब्लुएचओका तर्कहरुमा केही सत्यता देखिएको पनि हो। युरोपेली राष्ट्रहरु, इरान र अमेरिकाका केही घट्ना, दृश्य र समाचारहरुले महामारिले बिकराल रुप लिन सक्ने स्थिती पनि देखियो। डब्लुएचओका बिज्ञहरु आफ्नो पुर्बानुमान सहि साबित भएकोमा हौसिए पनि र थप दुर्घटना हुने चेतावनी दिन थाले। उपचार विधि, दाहसंस्कार र नियन्त्रण का विभिन्न बिधिहरु बनाइए र सदस्य राष्ट्र हरुले त्यही अनुसार गर्न उर्दि जारी गरियो। जब महामारी अन्य देशहरुमा पनि फैलियो र डब्लुचओले अन्दाज गरे अनुरुपको संख्यामा मृत्यु देखिएन अनि अन्यकुनै कारणले मृत्यु भएपनी कोरोना परिक्षण पोजिटिभ देखिएमा त्यसलाई पनि कोरोनाकै कारण मृत्यु भएको भनी संख्या उल्लेख गर्नु भने पछि डब्लुएचओको निर्णयमा शंशय देखियो। अहिले ९ महिनाको अवधिमा मृत्यु संख्या साढे आठ लाखको हाराहारीमा (दिर्घ रोगी, बयोबृद्व, आत्महत्या लगायत समेत जोडेर) देखिनुले डब्लुएचओको नियतमा शंका गर्ने प्रसस्त ठाउँ देखिएको छ।
                              अलिकती तथ्यांकहरुको अवस्थालाई हेरौं। सन् १९१८ को सुरुमा देखिएको स्पेनिश फ्लूको कारण तत्कालीन विश्व जनसंख्याको एक तिहाइ संक्रमित भएको थियो। इतिहासकै सबभन्दा ठूलो महामारी मानिएको उक्त फ्लूले ५ करोड मानिसले ज्यान गुमाएको विभिन्न स्रोतहरुमा उल्लेख गरिएको छ। २ बर्ष सम्म नि नियन्त्रणमा न आएको उक्त फ्लूले पाँच चरण पार गर्ने क्रममा दोस्रो वेभमा, पहिलो छ महिनामा झण्डै डेढ करोड मानिसको ज्यान लिएको थियो। त्यतिखेरको उपचारको उपलब्धता, सूचना सञ्चार को अवस्था, प्रीभेन्टिभ मेजर्सहरुको अवस्था इत्यादि कारणले धेरै मानिसले ज्यान गुमाउनु पर्‍यो। त्यो वास्तवमै महामारी थियो। सन् १९५८ को एसियन फ्लू, १९६८ को हङकङ फ्लू लगायत ले पनि ८/१० महिनामा १० देखि १५ लाख मानिसले ज्यान गुमाएका थिए। सन् १९८२ मा देखा परेको HIV AIDS को कारण अहिले सम्म ४ करोड बढी मानिसले ज्यान गुमाएका छन् र त्यत्तिकै हाराहारिमा संक्रमित छन् । डब्लुएचओकै तथ्यांकअनुसार सन् २०१९ मा मात्रै करिब १७ लाख HIV AIDS को नयाँ संक्रमित थपिएका हुन। जुन अहिलेको कोरोनाको भन्दा बढी भयावह स्थिती हो। एक हिसाबले यो रोग अझै पनि महामारिकै रुपमा छ। कुनै खोप र औषधि पत्ता लागेको छैन। विश्वमा प्रत्येक बर्ष सबभन्दा बढी मुटु सम्बन्धी समस्याका कारण ज्यान गुमाउछन। डब्लुएचओको तथ्यांकअनुसार सन् २०१९ मा कार्डियो भास्कुलर प्रोब्लमका कारण ज्यान गुमाउनेको संख्या झण्डै १ करोड ८० लाख थियो। औसतमा यो रोगबाट दैनिक करिब ४९ हजार मानिसको मृत्यु हुन्छ। डब्लुएचओकै तथ्यांकअनुसार बार्षिक ९५ लाख मानिसको मृत्यु क्यान्सरको कारणले हुन्छ। अझ अर्को तथ्यांकले के देखाउछ भने मौसमी रुघाखोकीको कारणले बार्षिक ७ लाख भन्दा बढी मानिसको मृत्यु हुन्छ। तथ्यांकहरुले देखाए अनुसार बार्षिक झण्डै १४ लाख मान्छेको सडक दुर्घटनामा, १० लाख मान्छेले आत्महत्या, १५ लाखको झाडापखालाको कारण मृत्यु हुन्छ। सौचालय तथा स्नानगृहमा लडेर १० हजार मान्छेको मृत्यु हुन्छ। अहिलेसम्म झण्डै ९ महिनामा कोरोना संक्रमित ८ लाख ३० हजार १५० जनाको मृत्यु (27 Aug 2020) भएको छ। न्युनतम औसत २ हजार प्रतिदिन देखि अधिकतम साढे ७ हजार दैनिक मृत्यु कोरोना भाइरसको कारण भएको देखिन्छ। जहाँकी अगिल्ला बर्षहरुमा पनि सिजनल फ्लूको कारण दैनिक १५ सय देखि ३५ सय मानिसको मृत्यु हुने गरेको थियो।
                यो तथ्यांक हेर्दा कोरोना भाइरसलाई महामारी भनिनु नै गलत हो जस्तो लाग्छ। डब्लुचओकै तथ्यांकअनुसार दैनिक मृत्युको झण्डै ८५ प्रतिशत मृत्यु कुनै न कुनै रोगको कारण हुने गर्छ। कोरोना भाइरस बाहेक अन्य थुप्रै बिमारले मान्छेहरु मरिरहेका छन् तर त्यसको लागि लकडाउन गरिएको छैन त। मदिरा सेवन, धूम्रपान र सडक दुर्घटनामा उल्लेख्य मान्छे ले ज्यान गुमाउछन अनि धूम्रपान, मध्यपान, लागू औसध रोकिएको छ? सडकमा दुर्घटना हुन्छ भनेर गाडी बन्द गरिएको छ? अनि ९ महिनामा ८ लाख मान्छेले ज्यान गुमाउने रोगलाई किन यतिबिधी खतरनाक मानिएको त?
जतिसक्दो छिटो यसलाइ सामान्यिकरण गर्नुको बिकल्प छैन। साबधानी अपनाउदै जनजिवन सामान्य बनाउन ढिला नगरौं । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने अर्बौं रुपैयाँ खर्च भैसकेको छ। सात/आठ महिनामा सय डेढ सय जनाको मृत्यु सिजनल फ्लूको कारण पनि हुन्छ। मृत्यु भएकाहरुको मृत्युको कारण कोरोना भाइरस मात्रै एक्दम कम संख्यामा छ। कतिपयको मृत्यु त अन्य कारणले भैसकेको अवस्थामा कोरोना परिक्षण पनि गराइ हेरौं न त भनेर गरिएको छ। फेरि अर्को तर्फ सामान्य अवस्थामा पिसिआर परिक्षण को नतिजा ८० प्रतिशत मात्र विश्वसनीय हुन्छ अर्थात १०० जनाको परिक्षण गर्दा पोजिटिभ देखियो भने २० जनाको रिपोर्ट गलत हो भन्ने बुझिन्छ त्यसमाथी हाम्रो देशको सरकारी निकायको कार्य सम्पादनमा विश्वसनीयता यसै कम छ। तसर्थ पनि पोजिटिभको संख्यालाई त्यत्तिनै यकिन गर्नु पर्ने अवस्था छैन। यी सबै कुरालाई सुक्ष्म अध्ययन गर्दा भयावह अवस्था चित्रण गरिनु पर्ने आवस्यकता कहिं देखिदैन तर मनिबैज्ञानिक ढंगले मानिसमा त्रास सृजना भएको छ त्यसलाई हटाउन र यसलाई एउटा सामान्य फ्लूको रुपमा बुझाउन सम्बन्धित पक्षले अब राम्रै कसरत गर्नु पर्ने देखिन्छ। कुनै लक्षण नै नदेखिएका, समस्या नै नपरेका ब्यक्तिमा कोरोना पोजिटिभ देखिएपछी असामान्य तरिकाले उठाएर आइसोलेसन लैजाने कार्य देख्दै डरलाग्दो छ। कतिपयले आइसोलेसन बस्दा हाच्छिउँ सम्म नआएको र पुन परिक्षण गर्दा नेगेटिभ देखिएको बताएका छन् तथापि फर्केर आइसकेपछी समाजले दुत्कारेका उदाहरण प्रसस्त छन्। यस्तो आतंकित किन पारियो? कस्ले जवाफ दिने? मान्छेलाई अनावश्यक भयभित बनाउने काम भएको छ।
                 नेपाल सरकारले अरबौं रकम कोरोना उपचार र रोकथाममा खर्च गरिसकेको छ। त्यो रकमले आवस्यक पर्नेहरुको लागि अति राम्रो उपचार हुन सक्थ्यो। शरिरलाई रोग प्रतिरोधी क्षमता बिकास गर्ने कुरामा त्यो रकम खर्च गरेको भए मान्छेको स्वास्थ्य सुधार हुन्थ्यो। औसत आयु बढ्थ्यो। अर्थतन्त्र यति धरासायी हुन्नथ्यो। बिपन्न समुदायको जीवन स्तर यतिबिधी रुग्ण हुँदैनथ्यो । पिसिआर परिक्षणमा लाग्ने खर्च बराबर सम्बन्धित ब्यक्तिलाई पोसिलो खानेकुरा दिएको भए रोग लागिहाले पनि त्यसलाई परास्त गर्ने क्षमता राख्थ्यो। अहिले पिसिआरमा खर्च गरेर पोजिटिभ देखिएपछि अत्यन्त दुरावस्थाको आइसोलेसनमा राखिन्छ। मनोबैज्ञानिक असर र उचित स्याहारसुसारको अभावले प्रतिरोधी क्षमता त्यसै घट्न जान्छ। कतिपय अन्य रोगिहरु जसलाई अत्यन्त सघन उपचार र रेखदेखको आवस्यकता हुन्छ त्यसलाई कोरोना अस्पतालमा भर्ना गर्दा यथोचित उपचार पाउँदैन अनि मृत्यु हुन्छ र भनिन्छ कोरोनाको कारण दिर्घ रोगिहरुको मृत्यु दर बढी छ।
                     तसर्थ यसलाई अनावश्यक हाउगुजी नबनाउँ। कोरोना लागिहाले पनि सन्चो हुन्छ। सम्पर्कमा आउने सबैलाई सरिहाल्ने पनि होइन। हामी रुघाखोकीले ग्रस्त भएको मान्छे संग बस्दा, हात मिलाउदा रुघा सरि हाल्थ्यो र? सर्दैन त, यो पनि त्यस्तै हो। रुघाखोकी लागेको मान्छे अस्पताल/ क्लिनिक जान्थ्यो, डाक्टरले पिपिई नलगाई चेक गर्थे, तिनिहरुलाइ सर्थ्यो त? सर्दैनथ्यो नि, त्यस्तै हो यो कोरोना भाइरस नि। १०० जना कोरोना पोजिटिभ देखिएका मध्य २५/३० जनालाई त लक्षण नै देखिन्न। ६/७ जनालाई अस्पताल भर्ना गर्नु पर्ने हुन्छ । त्यसमध्ये नि अरु रोग बाट ग्रस्त अथवा कमजोर प्रतिरक्षा भएका १/२ जनालाई आइसियु चाहिन्छ। हजारौंमा एकाध ब्यक्तिलाई भेन्टिलेटर चाहिन्छ। भनेपछि १०० मा सयजनालाई नै अस्पताल वा आइसोलेसन किन दौडाउनु पर्‍यो। लक्षणनै नदेखिएको मान्छेलाई किन पिसिआर परिक्षण गर्नु पर्यो? पिसिआर परिक्षण नेगेटिभ आउनु भनेको फेरि कहिल्यै नलाग्ने सर्टिफिकेट पाएको नि होइन। स्थिती अलि जटिल भएर अस्पताल गएको हो भने र कोरोना सम्बन्धी उपचार आवस्यक छ छैन भन्नका लागि मात्र पिसिआर परिक्षण गरौं। संख्याको लागि मात्र परिक्षण बन्द गरौं। जनजिवन सामान्य बनिसके पछि पनि साबधानी अपनाउँ। शंका लागेमा घरमा अलि छुट्टै बसौं। अनावश्यक मानिस संग सम्पर्कमा नआऔं। मास्क, स्यानिटाइजर प्रयोग गरौं। प्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुरा खाऔं। आत्तिनु पर्ने कुनै कारण छैन। पत्रपत्रिका, टिभी, रेडियो लगायत सञ्चार माध्यमले पिसिआर रिपोर्ट को संख्यालाई हेडलाइन बनाउन बन्द गरौं। विभिन्न देशले खोपको बिकास गरि परिक्षण गरिरहेका छन् । केही महिना भित्रै तिनिहरुको प्रयोग गर्न सकिने छ । बरु त्यतिन्जेल अन्तर्राष्ट्रिय सिमा बन्द गरौं। हवाइ मार्ग हुँदै जाने आउनेको सन्दर्भमा अलि बढी साबधानी अपनाऔं। यसो गर्यौं भने सरकार संग नि उपचार गर्न सक्ने खर्च बच्नेछ र सर्बसाधारणले हातमुख जोर्न सक्ने स्थिती रहन्छ। होइन भने बनको बाघले खाला नखाला मनको बाघले अवस्य खान्छ।

Comments

Post a Comment

Popular posts from this blog

Solution of All Case Study, (PU) BBA, Mathematics, First Semester

Solution of 'Case Study' in Business Mathematics II (BBA, PU)

रुपन्देहीमै छ एउटा यस्तो कलेज जसको बारेमा धेरैलाई थाहा छैन ।