काठमाण्डौ 'ट्याग'
काठमाण्डौ एउटा ठाउँ मात्र रहेन । काठमाण्डौ प्रतिष्ठा हो, काठमाण्डौ ब्राण्ड हो, काठमाण्डौ इज्जत हो, काठमाण्डौ हैसियत हो, काठमाण्डौ मानपदवी हो, अझ भनुँ काठमाण्डौ एउटा त्यस्तो उपमा हो जुन हामी नेपाली कुनै न कुनै अवयवमा जोडिएर आओस भन्ने इच्छा राख्छौँ । काठमाण्डौ बिना हाम्रो जिवन अधुरो छ । कर्णालिका कुनाकाप्चा देखी लिएर तराईका छेउँछाउँ, हिमाल्, पहाडका हरेक बस्ती बस्तिमा एउटा कर्णप्रिय ध्वनी हो काठमाण्डौ । मानिसका रहर्, बाध्यता, सपना, आकांक्षा सबैतिर जोडिएर आउछ काठमाण्डौ । बिचार्, बहस, चिन्तन्, समाचार्, मुद्दा, परम्परा, दर्शन, बिज्ञान्, शिक्षा, स्वास्थ्य, रोजगार्, धर्म लगायत नेपालिका दिनन्दियमा आउँछ काठमाण्डौ । बच्चाको रहरमा, बयस्कको सपनामा र बृद्वको आस्थामा बसेको छ काठमाण्डौ । काठमाण्डौले आफै साशन गरेको छ हाम्रो जिवनमा । हाम्रा दैनिक जिवनका हरेक गतिबिधी जोडिएका छन काठमाण्डौमा । उद्दोग, ब्यापार, ब्यवसाय, शिक्षा, रोजगारि, स्वास्थ्य, धर्म्, मनोरञ्जन जस्ता जिवनका अपरिहार्य क्षेत्र काठमाण्डौ बिना अधुरा छन । दृश्यमा सदियौँ देखी खाल्टो भित्र बसिरहेको छ काठमाण्डौ तर अदृश्य रुपमा हरेक नेपालिको मन मुटुमा बसेको छ । कसैको एउटा मिठो अतित बनेर त कसैको सुन्दर बर्तमान बनेर , कसैको सपनामा सुन्दर आकृती बनेर त कसैको मेटाउनै नसकिने प्यास बनेर रहेको छ काठमाण्डौ । कसैकसैको जिवन फूल जस्तै सुन्दर बनेको छ त कसैको जिवन खरानी बनेको छ । कवि , लेखकका कलममा सुन्दर नगरि बनेर बसेको छ । संगितमा भाका बनेर बसेको छ, कलामा साधना बनेर त शिक्षामा प्रेरणा बनेर , सिपमा जाँगर बनेर बसेको छ त रंगमञ्चमा पृष्ठभुंमी बनेर सजिएको छ काठमाण्डौ । पवित्र कर्म देखी लिएर जघन्य अपराध कर्मको नेतृत्व बोकेर बसेको छ काठमाण्डौ । सारंशमा भन्दा हामी सारा नेपालिको पहिचानको कुनै कुनै अर्थमा बसेको छ काठमाण्डौ । यस्तो छ कि काठमाण्डौ छ र हामी छौं, हामिले खाएका छौं, लाएका छौं, पाएका छौं, गाएका छौं, हामी बाँचेका छौं ।
सधैं यस्तै छ कि काठमाण्डौ अचानक यस्तो भयो हामी नेपाली को लागि, इतिहास हेरौं । मल्लकालिन समय सम्म काठमाण्डौ खाल्टो संग बाहिरी दुनियांको खासै सम्पर्क थिएन । काठमाण्डौ नै थिएन त्यतिबेला । कान्तिपुर , पाटन , भक्तपुर , किर्तिपुर जस्ता ससाना राज्य थिए र त्यही नै त्यहाँका बासिन्दाको देश परदेश थियो । पृथ्विनारायण शाहले चन्द्रागिरीबाट 'म याहाका राजा भया त कती आनन्द आया' भन्ने नसोच्दा सम्म बाहिरी दुनियाको रोजाइमा थिएन यो ठाउँ । उनैले बाहिरी मान्छे छिराएका हुन काठमाण्डौ मा । उनले गोर्खाली ल्याए, मकवानपुर ससुराली गाउँ तिर बाट ल्याए । लम्जुङ, पाल्पा, सिंजा, दुल्लु, सिम्रौनगढ, सिन्धुली, धनकुटा बाट मान्छे ल्याए । कसैलाई समातेर ल्याए, कसैलाई उर्दी जारी गरेर ल्याए, कसैलाई बिन्ती गरेरै ल्याए । काठमाण्डौमा बाहिरका मान्छे गए ।
'प्रजा मोटा भया त राज्य बलियो हुन्छ' भन्थे उनले । उनि संग आउने अधिकांस 'बलियै' थिए । राज्यमा उनको र समाजमा उनले ल्याएका मान्छेको हालिमुहाली भयो । बस्नेत, थापा र पाण्डेहरु त पछी राणाकालामा समेत तहल्का पिट्न सक्ने जातिगत गुट बनेर बस्यो । भनिन्छ तिनिहरु काठमाण्डौका रैथाने थिएनन पृथ्विनारायण शाहले बाहिर बाट ल्याएका थिए । त्यस भन्दा पहिले काठमाण्डौमा नेवार र ब्राम्हणहरुकै बाहुल्यता थियो । पछी राणाकालामा उपत्यका बाहिर बिभिन्न सरकारी अड्डाहरु खडा गरिए । त्यसमा काम गर्ने मान्छे उपत्यकाबाटै खटिन्थे । पछी बिस्तारै राम्रा जमिन, जंगल , खानी , धार्मिक महत्वका क्षेत्रमा राणाहरु आफै गएर बस्न थाले, आसेपासेलाई बितरण गर्न थाले । त्यसपछी बल्ल उपत्यका र बाहिरी दुनियाको बिचमा एक किसिमको सम्पर्क बन्दै गयो।
अहिले यद्यपी काठमाण्डौ जस्तै ठुला शहरहरु अरु पनि छन । हरेक शहरका आ-आफ्नै विशेषता छन र पनि ति सबैको समग्र बनेको छ काठमाण्डौ।काठमाण्डौ शब्दमै ओझ छ । भारी छ । महत्वपूर्ण छ । कुनैपनी कार्य वा घटनामा काठमाण्डौं जोडिएर आएपछी त्यसको महत्व बढेर जान्छ । ब्यक्तिको कामकाजमा काठमाण्डौ जोडियो भने स्तर बढ्छ । प्रतिष्ठा बढ्छ । काठमाण्डौ काम गर्छ भन्दा इज्जत हुन्छ, काठमाण्डौमा पढेको भनेसी अब्बल ठहरिन्छ । काठमाण्डौबाट मगाएको भन्यो भने बस्तु बिक्छ । काठमाण्डौ किनेको भनेपछी त्यो ब्राण्ड ठहरिन्छ । काठमाण्डौ छु भन्यो भने आवाज सुनिन्छ । काम बन्छ । यस्तो छ कि काठमाण्डौ बाहिर को कुनै चिजले प्रतिश्पर्धा गर्न सक्दैन ।
डाक्टर , वकिल , प्राध्यापक , ब्यवसायी , ब्यापारी , नेता, सर्जक , कलाकार , पत्रकार , बिद्यार्थी , किसान कोही पनि काठमाण्डौ भन्दा बाहिर छ भने त्यो बरीष्ठ हुनै सक्दैन । अथवा भनौं ख्याती कमाउन बाहिर हुनै मिल्दैन । काठमाण्डौ भन्दा बाहिर हुनेको ज्ञान बढी हुनै सक्दैन । बाहिर चाहे त्यो पोखरा, धरान , बिराटनगर, बिरगञ्ज, भरतपुर, बुटवल , नेपालगञ्ज, धनगढी होस तिनिहरुको महत्व काठमाण्डौका ठाउँहरु भन्दा कम हुन्छ । रत्नपार्क , जमल , लाजिम्पाट , महाराजगञ्ज , बानेश्वर , तीनकुने, बालाजु , बुढानिलकण्ठ, गठ्ठाघर्, लोकन्थली , ठिमी , कालिमाटि, बल्खु , कलंकी , सातदोबाटो, सानेपा, चावहिल , रातोपुल्, कालोपुल्, एकान्तकुना, थापाथलि, माइतिघर , जावालाखेल्, लगनखेल्, सुर्यबिनायक , चोभार , किर्तिपुर , थानकोट , धापासी , बसुन्धाराअ , ठमेल , मैतिदेवि, ज्ञानेश्वर , डिल्लिबजार्, न्यु रोड , असन , सुन्धारा, भोटाहिटि, कपन , कुलेश्वर , मात्र होइन च्यासल्, ज्याँठा, ठेचो, धुम्बराहि, चाक्सिबारि, भत्केपाटि, नैकाप, भैसेपाटि, पेप्सिकोला जे जे छन तीनिहरु महत्वपुर्न छन , विशेष छन। त्यस्तै नाम भएका ठाउँ त्यहाँ भन्दा बाहिर छन भने पनि त्यसले उहीँ काठमाडौंकै सम्झाइदिन्छ। हरेक शहरमा न्यु रोड छन तर काठमाडौको विशेष छ ।तीनिहरु मध्य जुनसुकै ठाउँमा तपाईं हामी हुनु र बाहिरका जुन सुकै ठाउँमा हुनुमा उनैले जित्छन, उनकै महत्व बढी छ ।
ब्ब्बराजधानी भएको कारणले मात्र त्यस्तो भएको भने होइन । राजधानी भन्दा अरु शहरहरुनै बढी प्रख्यात भएका उदाहरण प्रसस्त छन । छिमेकी देशकै कुरा गर्ने हो भने नयाँ दिल्ली भन्दा मुम्बई बढी प्रख्यात छ । इश्लामाबाद भन्दा कराची बढी प्रख्यात छ । बेइजिङ भन्दा साङ्घाइ बढी प्रख्यात छ । अमेरिकामा पनि वासिङ्टन भन्दा न्यु योर्क बढी प्रख्यात छ । अस्ट्रेलियामा मेलबर्न भन्दा सिड्नी बढी प्रख्यात छ । प्रख्यातिको लागी राजधानी नै हुनु पर्छ भन्ने होइन ।तर हाम्रो देशमा काठमाण्डौसंग प्रतिश्पर्धा गर्ने कुनै शहर छैन । यो काठमाण्डौले आफै बनाएको त होइन । हामिले बनाएका छौं । हामिले यो स्थानमा पुर्याएका हौं। चाहेर/ नचाहेर, बिकल्प भएर/नभएर, पाएक पर्ने/नपर्ने, सुन्दर भएर, बसोबासको लागि उपर्युक्त भएर, जग्गा प्रसस्त र सम्म परेको भएर जे सुकै कारणले होस् काठमाडौं हाम्रो शिर माथी छ।
हामिले बढी महत्व दिन्छौं । कतिपय कुरामा बिकल्प नभएरै महत्वपूर्ण छ । अन्तरराष्ट्रीय बिमाननस्थल काठमाण्डौ मात्रै हुनुले बैदेशिक यात्रामा जाने/आउने हरुकोलागी अनिवार्य भयो । त्यसबाहेक अन्य सबै सुबिधा, सेवा त्यहाँ भन्दा बाहिर नि उपलब्ध छन तर त्यती महत्वपुर्ण छैनन । विश्वविद्यालय , क्याम्पस, अदालत , होटल , अस्पताल बाहिर पनि छन तर काठमाण्डौ तुलनामा कमजोर छन वा मानिन्छन । अहिले त देश संघिय ब्यवस्थामा गएको छ । बिभिन्न प्रदेश बनेका छन । राज्य सत्तालाई बिकेन्दृत गरिएको छ । गाउँगाउँमा सिंहदरबार बनाइएको छ तर पनि ति सबै एकातिर काठमाण्डौ एकतिर गर्यो भने पनि भारी हुन्छ । हाम्रो मानसिकतामै काठमाण्डौ छ । त्यही मात्रै अब्बल मानिन्छ ।
बाहिरबाट भनेपछी कर्मचारीले हेप्छन, नेताहरुले भेट दिंदैनन, काठमाण्डौ बाहिरबाट भन्ने बित्तिकै भिन्दै दृष्टिकोणबाट हेरिन्छ । आफ्नै समकक्षिहरुको ब्यवहार भिन्दै हुन्छ । महत्व दिदैनन । स्थाइ बासिन्दाको त धेरै टाढाको कुरा काठमाण्डौका डेरावाल समेत बाहिरबाट जानेहरु संग समानाताको ब्यवहार गर्न वा सम्मान दिन तयार हुँदैनन । एउटै फिल्डमा अभ्यास गरी रहेको डाक्टर , उहि तहमा उहि बिषय अध्यापन गरी रहेको प्राध्यापक , कुनै निश्चित क्षेत्रमा बिशिष्टिकृत बिद्वता भएको ब्यक्ति, पत्रकार , वकिल इत्यादी जतीसुकै सक्षम र सफल भएपनि काठमाण्डौको तुलनामा बाहिरकोलाई कम मान्यता दिइन्छ । काठमाण्डौ भएकाले होइन बाहिरै भएकोले समेत बाहिरकोलाई कम महत्व दिन्छ । किनकी हामी सबैले काठमाण्डौ
ट्याग मन पराउछौं।श्रद्वा गर्छौं। हामिले हाम्रा क्रीयाकलापमा काठमाण्डौ जोड्दा गर्व महशुस गर्छौं।
दीपक ज्ञवाली
इति २०७७ भाद्र १६ मंगलबार
तिलोत्तमा ५, मणिग्राम, रुपन्देही


Comments
Post a Comment