बुटवल - तानसेन सडकको हविगत; देखेर नि नदेखिएको ब्यथा !
दीपक ज्ञवाली, रुरुक्षेत्र - ५, गुल्मी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पश्चिममा सबभन्दा बलियो राज्य थियो पाल्पा। त्यहाँका सेन बंशिय राजालाई पराजित गर्न नसकिने देखेर पृथ्वीनारायण शाहले त्यहाँका राजा संग मीत सम्बन्ध गाँसे र संगसंगै मिलेर इस्मा, अर्घा लगायतका राज्य जित्दै पाल्पाको अधिनस्थ बनाउदै गए अनि अन्त्यमा सबैलाई आफ्नै अधीनमा लिए।
इतिहासले नै पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका स्थानको महत्व दर्शाउछ। राणा कालमा समेत पाल्पा देशकै दोस्रो राजधानीको रुपमा चिनिन्थ्यो। तानसेनमा, अर्गलीमा राणाहरुले दरबार बनाएका थिए। प्राकृतिक मनोरम बाताबरणको लागि त्यतिखेर पोखरा भन्दा बढी तानसेन चर्चित थियो। पुराना साहित्यिक रचनाहरुमा समेत सुन्दर ठाउँ, शहर घुम्न जाने सन्दर्भमा तानसेनको चर्चा गरेको पाइन्छ। बुटवल, तत्कालीन खस्यौली बजार बस्दै गर्दा तानसेन शहर बनिसकेको थियो। रौनक नै अर्कै थियो। गुल्मी, पाल्पा, अर्घाखाँची मध्य नेपालकै घना जनसंख्यावाला जिल्लामा गनिन्थे। बटौली देखि ढोर सम्मको लामो पैदलमार्ग पाल्पा गुल्मी हुँदै जान्थ्यो। व्यापार तथा भारतिय बजारमा रोजगारिमा जानेहरुको बाक्लो ताँती हुन्थ्यो यो मार्गमा। म सानो छंदा त्यो पैदल मार्गमा पैदल यात्रीहरु हिंडेको सम्झिन्छु। चाडपर्वको बेला घर फर्किने लाहुरेहरु र भरिया तथा ब्यपारिहरुको लर्को देखिन्थ्यो। बाटो कहिले सुनसान नै हुन्थेन। टाढा टाढा घर बताउने मान्छे हरु हिड्थे। हामिले घडी बाँधेको मान्छे देख्ने बित्तिक्कै टाइम सोध्थ्यौं। कतिपयले हिन्दिमै उत्तर दिन्थे। तानसेन तम्घास मोटरबाटो बनेपछी टक्सार उल्लिखोला हुँदै बाग्लुङ जानेहरुको भिड हो मैले देखेको, त्यो मोटरबाटो नबन्दैको कुरा सुनेको हो मैले। मान्छेका घना बस्तिहरुले त्यो क्षेत्र रमाइलो थियो। कृषि, पशुपालन, व्यापार गरेर मानिसहरु बसेका थिए। एकै जोडिका दस बाह्र सन्तान हुन्थे। बहुबिबाह सामान्य थियो। सिमित चाहना, सिमित आयस्रोत, सिमित भु-खण्डमा मान्छेका आवश्यकता नि सिमितै थिए। मानिस सुखी र खुसी थियो यो क्षेत्रमा।यो भेगमा घना बस्ती र यो क्षेत्रको प्रमुख शहर तानसेन भएकै कारण सुनौलि पोखरा सिद्धार्थ राजमार्ग बन्यो। पुराना राजमार्ग मध्येको यो राजमार्गले तराइलाई यी पहाडी क्षेत्रसंग जोड्यो। अत्यवस्यकिय सामान ढुवानी र बैदेशिक रोजगारिमा जानेहरुलाई यो मार्गले धेरै सहज बनायो। तानसेन तम्घास सडक निर्माण पछि त झन गुल्मी, अर्घाखाँची, प्युठान र बाग्लुङ जानेहरुको मुख्य मार्ग बन्यो यो। यहि बाटो नै आधुनिक जिवनको मुख्य आधार बन्यो। यी जिल्लाहरु सुगम पहाडी जिल्ला दर्ज भयो। चहलपहल बढ्यो। सदरमुकामहरु घरले भरिए। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पक्षहरु सहज र सरल हुन गए। ठाउँ ठाउँमा बिद्यालयहरु खुले, बिद्यालय जानेको संख्या बढ्यो। एक हिसाबले भन्ने हो भने यी जिल्लाहरुमा यो मार्ग हुँदै बिकास भितृयो। बि. सं. २०५०-०५५ सम्म बिशेषगरी गुल्मी जिल्ला साक्षरता, जनसंख्या र बिकासको गतिमा अग्रणी बन्न पुग्यो। बैदेशिक रोजगारी, ब्यापार ब्यवसाय, अध्ययन इत्यादी कारणले जनजिविकामा व्यापक परिवर्तन भयो। यो सबैको मुख्य श्रेयनै बुटवल, तानसेन, तम्घास सडक निर्माणलाई जान्छ।
जसरी यो राजमार्गले बिकास भित्र्यायो अहिले त्यसरी नै ती बस्तिहरुलाई उजाड बनाएको छ। जुन हिसाबले त्यस क्षेत्रमा बिकास भयो, त्यही हिसाबले यो राजमार्गले आफ्नो आकार बदल्न सकेन। बिकास भित्र्याउने मार्गनै जिर्ण बनेपछी अपेक्षित बिकासले गति लिन सकेन। मानिसहरुको आर्थिक सबलतालाई सम्बोधन गर्ने गरि बिकास हुन नसकेपछी बसाइँसराइको क्रम बढ्न थाल्यो र बसाइँसराइ यति भयानक स्थितिमा पुग्यो कि अहिले यी जिल्लाका गाउँ बस्तिहरु खाली खाली भैसकेका छन् । जनसंख्या घटी रहेको छ र रुपन्देही, कपिलवस्तु लगायतका आसन्न तराइका जिल्लाहरुमा डरलाग्दो दरमा जनसंख्या उर्लिएको छ। यो सबैको प्रमुख कारण भनेकै एकमात्र पहुँच मार्गको स्तरोन्नतिको अभाव हो। स्वास्थ्य, शिक्षाका क्षेत्रमा अपेक्षित सुधार हुन सकेन। जिर्ण बाटोको कारण ढुवानी खर्च बढ्न थाल्यो। फलस्वरुप आयमा सुधार भएको जनशक्तिले तराईमा बसाइँ लाई उपर्युक्त ठान्यो। २०६२/६३ साल पछि बसाइँसराइ यति तिब्र गतिमा भयो कि ८/१० बर्षमै तराइका पातला बस्तिहरु भटाभट नगरपालिकामा परिणत हुँदै गए। कुनै बेला गुल्मिको जनसंख्याको आधाआधी हुने रुपन्देहीको जनसंख्या अहिले चार गुणा बढी भै सकेको छ। अझ अहिलेको संघिय संरचनाले न त जिल्ला सदरमुकामका सहरहरु फस्टाए न त स्थानिय केन्द्रहरुमा शहर बस्ने आधार बन्यो। अलिकती पैसाको जोहो गर्यो कि त मधेस झर्ने परिपाटिको बिकास भयो। परिणामस्वरूप पहाडी गाउँ बस्तीहरु उजाडिन थाले। भएका खेतवारि बाँझै रहे। घर खाली भए। जंगल बढ्यो। जंगली जनावरको बिगबिगी भयो। मान्छे बाध्य भएर बसाइँ सार्नु पर्यो। यो सबैको कारण पनि यहि राजमार्ग हो।
२०४८ साल पछिका हरेक चुनावमा नारा बन्यो यो बाटो, गुल्मीका उम्मेदवारले तानसेन तम्घास मोटरबाटोको मुद्दा उठाए, पाल्पा, अर्घाखाँची स्याङ्जा लगायत ले सिद्धार्थ राजमार्गको मुद्दा उठाए। चुनाव जिते, अवधी सकियो, बरु उनिहरु आफै त्यो चुनावी क्षेत्र छोडेर रुपन्देही तिर झरे तर बाटो स्तरमा सुधार भएन। न त अहिले सम्म यसको कुनै बैकल्पिक बाटो तयार भयो। सालझण्डी - ढोरपाटन सडकको मुद्दा उठाएर जनतालाई रनभुल्ल पारे अर्घाखाँचीका टोपबहादुर रायमाझीले तर अहिले सम्म त्यो मार्गमा ट्याक्टर सम्म चल्न सक्ने ट्र्याक बन्न सकेन। गुल्मिका चन्द्र भण्डारिले गुल्मेली जनतालाई फास्ट ट्र्याक उपहार भन्दै भाषण चुटे तर अहिले नि उनी यहि सिद्धबाबाको काल-मार्ग भएर ओहोरदोहोर गर्छन। तानसेन तम्घास सडकमा ठूलो दुर्घटनामा परि आफन्त गुमाएका गुल्मिका गोकर्ण बिष्ट पटक पटक मन्त्री भए तर पनि त्यो आफन्त गुमाउने बाटो सम्झिएनन। प्रदिप ज्ञवाली अहिलेको मन्त्रीमण्डलका शक्तिशाली सदस्य हुन तर उनको प्राथमिकतामा यो बाटो कहिले परेन। उनले तानसेन तम्घास बाटो पिच गरेको जस लिन चाहन्छन तर त्यो बाटो नै गुल्मीलाई उजाड बनाउने लर्कनो बन्यो भन्ने हेक्का पाएका छैनन। पाल्पाका सोमप्रसाद पाण्डे २०४८ सालदेखी सरकार र राजनितिमा हालिमुहाली छन। पटक पटक मन्त्री बने तर बुटवल तानसेन सडकको आकार र अवस्थाले त्यस क्षेत्रका जनतामा के कति असर पर्यो परेको छ भन्ने कुराको हेक्का नै राखेनन। सर्बोच्च अदालत बाट फ्याट्ट मन्त्रीपरिषदको अध्यक्ष पड्काएका खिलराज रेग्मिले माडी फाँटमा रिंगरोड बनाउने सम्म त सम्झे तर त्यहाँ सम्मको लागि महत्वपुर्ण पहुँच मार्ग सिद्धार्थ राजमार्ग हो भन्ने बुझे या बुझ्न चाहेनन। देशको कार्यकारी प्रमुख यस क्षेत्रले पाउँदा समेत यो राजमार्ग उबेला भारतले बनाए भन्दा आकार बदल्न सकेन बरु मर्मत सम्हारको नाउँमा सडकका कर्मचारी, इन्जिनियर र ठेकेदारले हसुरिरहे, बाटो झन् जिर्ण र डरलाग्दो बन्दै गयो।
राजनितिमा जतिसुकै ठुला भयौं भने पनि यो क्षेत्रका नेतालाई धेरै जसो पुर्बेलिहरुले दबाएर राखेकै छन। शेरबहादुर देउवा र लोकेन्द्र बाहेक २०४८ पछिका सबै सासक पुर्बेली हुन् । जे जति कुरा गरे पनि पुर्बेलीहरुमा क्षेत्रीय छाप छ। सित्तिमिती पुर्बेलिहरुले पश्चिमाहरुलाई गन्दैनन, मान्दैनन् , हेप्छन। हाम्रा यहाँका ठालु नेताहरु उनिहरुकै कहिँ न कहिँ पुच्छर बनेर बसेका छन। बिष्णु पौडेल, प्रदिप ज्ञवाली, उपप्रधानमन्त्री बनेका टोपबहादुर रायमाझी, गोकर्ण बिष्ट, सोमप्रसाद पाण्डे यिनिहरु सबै पुर्बेली नेताका हनुमानहरु हुन। पुर्बेली नेताको आशीर्वाद पाएनन भने यिनिहरुको पार्टीमै अस्तित्व छैन। त्यसैले यिनिहरु यहाँका जनता भन्दा पुर्बेली नेताप्रती बढी बफादार छन। कांग्रेसका बालकृष्ण खाँण देउबाका पक्का हनुमान हुन भने चन्द्र भण्डारी तुलनात्मक रुपमा कसैको गुलामी नगर्ने स्वभावका हुनाले पार्टिमै झन् कमजोर स्थितिमा हुन्छन् । उनलाई टिकट पाउनै हम्मे हुन्छ उस्तै परे। अर्घाखाँचीका ढुन्डिराज शास्त्रि मन्त्री त बने तर उनले आफ्नो ठाउँ अर्घाखाँची हो भन्ने कहिले भेउ पाएनन् । अप्ठ्यारो फुकाउन टिकट पाएका अन्य विभिन्न संसदिय चुनावमा बिजयी भागवत ज्ञवाली, फटिक थापा, रुद्रमणी, चन्द्र बहादुर जस्ता टोले नेताहरुको बिकासमा के योगदान हुनु!
प्रतिनिधि पात्रहरु कमजोर हुनु नै त्यस क्षेत्रका जनताको दुर्भाग्य हो। गुल्मी, पाल्पा र अर्घाखाँचीका जनप्रतिनिधिहरुमा क्षमता नहुनुले नै यो क्षेत्रको यो बिजोक अवस्था भएको हो भन्नू अतिसयुक्ती नहोला ।
अहिले कल्पना गर्न नि नसक्ने अवस्था आएको छ। बुटवल देखि तानसेन सम्म फराकिलो, सानातिना घुम्टिहरु कटिङ गरेर, सम्भव भएका ठाउँमा अझ सर्टकट बाटो बनाएको भए बसाइँसराइको यो भयावह स्थिती आउने थिएन। शिक्षा, स्वास्थ्य, उद्योग धन्दाहरु बिकेन्दृत हुन्थे। गाउँ ठाउँका उर्बर भुंमिमा उत्पादन रोकिने थिएन। जनजिबिका अझ सहज हुन्थ्यो। युवाहरु बिदेशिनु पर्दैन थ्यो। यत्तिका बर्ष सम्म सम्बन्धित ओहोदामा हुनेले चासो दिएको भए अरु बैकल्पिक मार्ग हरु बन्न सक्थे। कृषि उत्पादनले बजार पाउँथ्यो। तानसेनको सौन्दर्य हराउदैनथ्यो। त्यस्तो शितल, सुन्दर ठाउँमा पर्यटकिय गतिबिधी बढ्थ्यो। छिमेकी राष्ट्र भारतको उत्तरप्रदेशका विभिन्न सहरबाट नजिकको सुन्दर पहाडी ठाउँमा प्रसस्त घुमन्तेहरु भित्र्याउन सकिन्थ्यो। तर दुर्भाग्य यो बाटो संगै यो क्षेत्रका जनताको आकांक्षा भत्कियो, साघुंरिदै गयो र त्यही जिर्ण बाटो हुँदै आफ्नै भुंमिमा बिरानो हुन बाध्य भए। तानसेन बुटवलको ३९ किमि बाटो नै मध्य नेपालको थुप्रै जनताको नियती बन्यो। एउटा राम्रो संभावना बोकेको ठाउँ यत्तिकै इतिहासमा बिलय भएर जाने अवस्था बन्यो।
बुटवल देखि उत्तरतिर लागे पछि नै बाटोको दुरावस्था सुरु हुन्छ। वल्लो सिद्धबाबा देखि दोभान सम्म त माथिबाट ढुङ्गा खस्ने खतरा छ, बाटो चौडा गर्ने ठाउँ नै छैन, ल मानियो तर गोलपार्क देखि वल्लो सिद्धबाबा सम्मको बाटो त फराकिलो र राम्रो बनाउन सकिन्थ्यो। अझ त्यो त बुटवल उपमहानगरपालिका भित्रै पर्थ्यो। उता दोभान देखि झुम्सा सम्म चुरे पहाडका ससाना ढिस्काहरुमा समेत घुम्ती छन। सानो प्रयासमै त्यो खण्ड फराकिलो र सिधा बनाउन सकिन्थ्यो तर त्यहाँ बर्षौं देखि नाली समेत सफा गरिएको छैन। सडकमै जोडेर घर बनाइएको छ। तल भास्सिएको बाटोको हालत बर्षौं देखि उस्तै छ। अझ अहिले त्यताबाट दैनिक हजारौं ट्रीप्परहरु गुड्छन, क्षमता भन्दा बढी भार भएका सवारी साधनहरुको ओहोरदोहोरले बाटोको अवस्था झन बिग्रेको छ। दुर्घटना उत्तिकै हुन्छन् । यो बाटो भएर यात्रा गर्ने मान्छे गन्तव्यमा पुग्यो पुगेन भनेर पटक पटक फोन गर्नु पर्ने हुन्छ त्यो अझ अर्को दुर्घटनाको कारण बन्न पुग्छ। धुलाम्य सडकले वरिपरिको बाताबरण त बिगारेको छ नै छेउँछाउँका खाजा नास्ता पसल समेत स्वस्थ छैनन। कतिपयले बाटोको यहि दुरावस्थाको कारण आफ्नो ब्यबसाय गुमाउनु परेको छ।
म सानो छँदा बुटवल झर्दाको बाटो उहीँ छ। बिकास र आधुनिकताले विश्वलाई कहाँ पुर्याइसक्यो तर त्यो बाटो २५/३० बर्ष सम्म मर्मत सम्हार रहित रह्यो। कुनै महापुरुष भेटिएन त्यसको अवस्था सुधार्ने। अहिले प्रदेश बनेका छन् । जिल्ला जिल्लाबाट प्रदेशका समेत सांसद चुनिएका छन् । प्रत्येक १००/१५० किमि को दुरिमा प्रदेश राजधानी बनेका छन। मन्त्रालय छन। मन्त्री छन। झण्डावाला चिल्ला गाडी गुड्छन तर मुख्य बाटोको हालत त्यस्तो छ। गुल्मीकै लिला गिरि बुटवलमा भौतिक योजना मन्त्रालय खोलेर बसेको अढाइ बर्ष भयो तर उनले बुटवल तानसेन सडक चिन्दैनन। गुल्मीकै अर्का सुदर्शन बरालले सामाजिक बिकास मन्त्रालय बोर्ड टांसेर सरकारी रासनपानी खान्छन तर उनले गुल्मी जाने एकमात्र बाटो बिर्सिसके। अन्य अनगिन्ती सरकारी रासनपानी घिच्नेहरु त्यही बाटो सरकारी गाडिमा जनताको रगत पसिना फुक्दै कुद्छन, बाटो बनाउने सोंच, जांगर र इच्छा कसैमा छैन। गुल्मी पाल्पा बाट त्यही सिद्धार्थ मार्ग हुँदै काठमाण्डौ पुगेर कयौंले सरकारी ढुकुटी रित्याए। त्यही बाटो हुँदै सडक बिग्रीने गरि पैसा ओसारियो तर सडकको दयनिय अवस्था देखिएन। हरेक दिन त्यो बाटो हुँदै गुज्रीने यात्रुहरुले तिरेको भाडाबाट राज्यकोषमा राजस्व थुप्रीयो, त्यो पैसामा भ्रष्ट नालायकहरुले रजाइँ गरे तर त्यो बाटो बनेन।
हुन त यो समस्या आज आएर देखिएको होइन। बर्सौं देखि यहाँका जनताले सास्ती भोगी रहेका छन। निजि क्षेत्रले गर्न नसक्ने भौतिक पुर्बाधार भनेको सडक हो। यत्ती सडक सरकारले बनाइदिने हो भने बाँकी क्षेत्रमा निजि लगानिको उत्पादन उपभोग गरेर पनि चलाउन सकिन्छ। दृढ इच्छा शक्ति हुने हो भने अहिलेको सरकार सञ्चालनमा हालिमुहाली भएका, पार्टिका प्रभावसाली ठानिएका बिष्णु पौडेल, प्रदिप ज्ञवाली, गोकर्ण बिश्ट, टोपबहादुर रायमाझी, सोमप्रसाद पाण्डे अनि भुरेटाकुरे भारदारहरु मिल्ने हो भने बुटवल तानसेन नमुना मार्ग बनाउन सकिन्छ र त्यो मार्गले बुटवल तानसेन दुबैलाइ त फाइदा गर्छ नै गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्बत, बाग्लुङका धेरै जनताको जिवनयापनमा महत्वपुर्ण परिवर्तन ल्याउन सक्छ। यहि सिद्धबाबामा सुरुङ्ग मार्गको त चर्चा मात्रै भै रहेको छ, बन्ने टुंगो छैन तर बबई डाइभर्सनमा प्रयोग भए जस्तै मेशिन लगाउने हो भने सुरुङ्ग मार्ग सहित तराइलाई पहाडी जिल्ला संग निकटमा तान्न सकिन्छ। डुम्रे हुँदै पाल्पा भैरवस्थानको फेंदिमा जाने अति छोटो बाटो छ, त्यहाँ दुई अढाई किमि को सुरुङ बनाउने हो भने पाल्पा जोर्ते निस्किने बाटो बनाउन सकिन्छ। यदि त्यसो हुने हो भने बुटवल बाट एक घण्टामै अर्गली पुग्न सकिन्छ। त्यस क्षेत्रमा कृषिको ठूलो सम्भावना छ। तर सुरुङ्ग मार्ग र रेल मार्ग हाम्रा सपना मात्रै भएका छन् । प्रत्येक ५/५ बर्षमा चतुरे हरु गाउँ पस्छन यस्तै मिठा सपना देखाउछन र आफ्नो जागिर सपार्छन।
त्यस क्षेत्रका जनता झिना मसिना बिकासका आश्वासनमा आफ्नो मत खेर हाल्नुको सट्टा एकमुस्ट प्रण गर्नु पर्छ। अर्को चुनावसम्म तानसेन बुटवल सडक चौडा भएन, तानसेन-तम्घास मोटरबाटो, रिडि-रुद्रबिनी- वामी, रिडि-बलकोट-अर्घातोस, सालझण्डी-खर्ज्याङ्ग, तम्घास-सिमलटारी, तम्घास-सन्धिखर्क बाटो स्तरोन्नति तथा पिच भएन भने आगामी चुनावमा मौजुदा राजनैतिक दललाई 'नो भोट' प्रयोग गर्ने बाचामा एकबद्व हुनु पर्छ केही न केही चेत अवस्य पर्ने छ। जिल्लामा आउँदा अरु कुनै प्रश्न नगर्ने खाली यो बाटोको प्रगती के कति भयो भनेर मात्र सोध्ने गर्यौं भने बांकी सानातिना ग्रामीण बिकासका कुरा पालिका मार्फत पनि गर्न सकिन्छ। बुटवल तानसेन सडक चार लेनमा चौडा गरि ठाउँ ठाउँमा अझ छोटो ट्र्याक बनाएर दुरि घटाउने र सिद्धबाबाको सुरुङ मार्ग अति छिटो बनाउन तपाईं हामी सबैले आवाज उठाउँ। नत्र यी तस्विरमा देखिए भन्दा अझ दुखद अवस्था भोग्नु पर्ने छ।

























































Comments
Post a Comment